काठमाडौं १० मा त्रिपक्षीय भीडन्त : सत्ता गठबन्धका दुई सांसद र एमालेका केसी मैदानमा
यसरी टुट्यो गठबन्धन
वि.सं.२०७९ असोज २८ शुक्रवार ०९:०९

काठमाडौं–काठमाडौं क्षेत्र नम्बर १० मा त्रिपक्षीय भीडन्त हुने भएको छ । सत्ता गठबन्धनको तालमेल नभएपछि दुई जना सांसद चुनावी मैदानमा छन् ।
सत्ता गठबन्धनका कांग्रेसका केन्द्रीय सदस्य राजन केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमालेले हिमेश केसीलाई मैदानमा उतारेको छ ।
२०७० साल र २०७४ सालमा समेत प्रत्यक्ष चुनाव जितेका राजनलाई समानुपातिकबाट माओवादीबाट सांसद बनेकी अन्जनाले टक्कर दिन लागेकी छिन् ।

यसरी टुट्यो गठबन्धन
प्रदेश सभामा भएको सहमति कार्यान्वयन नभएपछि प्रतिनिधि सभाको सहमति पनि तोडिदा सत्ता पक्षकै राजन र अन्जना आमनेसामने भएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो । सहमति अनुसार काठमाडौं १० (क) माओवादीको भागमा परेको थियो तर कांग्रेसले सहमति तोड्दै उम्मेदवारी दर्ता गराएपछि माओवादीले प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नै उम्मेदवार उठाएको छ । यहाँ कांग्रेसले पुकार महर्जन र माओवादीले दिलिप महर्जनलाई मैदानमा उतारेको छ । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् ।

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।
आ–आफ्नै दाबी
आफ्नो क्षेत्रमा तालमेल नभएपनि सजिलै निर्वाचित भएरै देखाउने केसीले बताएका छन् । तर, माओवादी केन्द्रबाट उम्मेदवार भएकी विशंखेले काठमाडौं १० का जनताले नयाँ अनुसार खोजेकाले आफू सजिलै जित्ने दाबी गर्छिन् ।

‘राजनजी यो क्षेत्रबाट धेरै पटक निर्वाचित भइ सक्नुभयो । अब यहाँका जनताले नयाँ अनुहार खोज्नु भएको छ भन्ने अनुभूति गरेकी छु,’ विशंखेले भनिन्, ‘यहाँको भााषा, संस्कृति र ऐतिहासक महत्व राजन भन्दा मैले बुझेकी छु । यस क्षेत्रमा जन्मे हुर्के पढेकाले मलाई बढी ज्ञान छ ।’ २०६४ सालमा अध्यक्ष प्रचण्डले जीत जस्तै आफू पनि चमत्कारिक ढंगले निर्वाचित हुने विशंखेको दाबी छ ।
यी हुन् अन्य उम्मेदवार
यस क्षेत्रबाट १७ जना प्रतिनिधि सभा उम्मेदवार छन् । राजकुमार थापा, रामबाबु ठाकुर र तिलकबहादुर रिज्याल तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेशमा प्रतिस्पर्धा
प्रदेश सभा ‘क’ मा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय भीडन्त हुने भएको छ । प्रदेश सभा ‘क’बाट कांग्रेसका पुकार महर्जन, एमालेका शिवभक्ति बलामी र माओवादीबाट दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । यस प्रदेश सभामा कुल ९ उम्मेदवारी परेको छ । सुरेन्द्र महर्जनको मात्रै स्वतन्त्र उम्मेदवारी परेको छ । पुकार काठमाडौं क्षेत्र १० का क्षेत्रीय सभापति समेत रहेका प्रदेश सांसद समेत हुन् ।

प्रदेश सभा ‘ख’ कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्रै तालमेल भएकाले माओवादीले आफ्नो आफ्नो उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीबाट रमा आलेमगर, माओवादी केन्द्रबाट गणेशबहादुर कुँवर र एमालेबाट रामशरण आले मगरले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ‘ख’बाट १२ जनाले उम्मेदवारी दिएका छन् भने सूर्यबहादुर महर्जन र दिपकप्रसाद तिवारीको स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
वि.सं.२०७९ असोज २८ शुक्रवार ०९:०९

















