सिर्जना बाँड्न जाऊँ

वि.सं.२०८१ माघ ८ मंगलवार २३:००

छन्द : मन्दाक्रान्ता
श्लोकसङ्ख्या : ६
शब्द संयोजक : सरु बस्नेत
द्रष्टा स्रष्टा कवि कुसुमिँदा भावको बाँसुरीमा ।
‘गौरी’ फुल्ने विपिनतिरका चिल्लिँदा लाँकुरीमा ।।
‘अश्वत्थामा’ नवल फलको स्वाद चाखी रमाऊँ ।
डाकी डाफेँ रनवन डुली सिर्जना बाँड्न जाऊँ ।।
१
मेरो माटो मुटुसित मिली भित्रभित्रै जलेमा ।
देखूँ तिम्रो छवि देिनदिनै ‘मालती-मङ्गलेमा ।।’
तिर्खा लागी थकित बनिँदा ‘चारु-चर्चा’ समाऊँ ।
डाकी क्वैली घरघर पुगी सिर्जना बाँड्न जाऊँ ।।
२
नौलो सत्याग्रह गरिरहूँ किन्नरीका कथामा ।
आशावादी मलहम दलूँ पापिनीका व्यथामा ।।
पृथ्वी सम्झी विजयधुनमा राष्ट्रको गान गाऊँ ।
डाकी मौरी मधुलव गनी सिर्जना बाँड्न जाऊँ ।।
३
गट्टा खेली यस मुलुकको लिन्छु ठेक्का र पट्टा ।
ओढूँ हाँस्दै त्यस बखतमा द्रौपदीको दुपट्टा ।।
कालीगङ्गा छलछल हुँदा वेग हेरी सुसाऊँ ।
डाकी सारा भ्रमर गतिला सिर्जना बाँड्न जाऊँ ।।
४
तिम्रा जस्तै सृजनलहरी लेख्नमा ध्यान गर्दा ।
वेदाध्यायी ऋषिमय बनूँ काव्यको रश्मि पर्दा ।।
झापा पुग्दा मनमन गमी बाजुरामा सुहाऊँ ।
डाकी धेरै असल पुतली सिर्जना बाँड्न जाऊँ ।।
५
ल्याऊँ नौलो प्रविधि युगको विश्वलाई नियाली ।
पारूँ छक्कै विधि नियमले भित्रिँदा एसियाली ।।
बिर्सी आफू हिमशिखरमा कीर्ति मेरो थमाऊँ ।
डाकी मैना हरपल उडी सिर्जना बाँड्न जाऊँ ।।
६

वि.सं.२०८१ माघ ८ मंगलवार २३:००