खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको नवौं साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ २१ सोमवार १०:०८

बारा– खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको नवौं साधारणसभा सम्पन्न भएको छ ।
निजगढ–८ स्थित शुभकार्य बैन्क्यूटमा भएको साधारण सभाको संघीय खानेपानीमन्त्री प्रदीप यादवले गमलामा जल शेचन गरेर उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी नागरिकको मौलिक हक भएकोले यसलाई सुनिश्चित गर्नुपर्ने बताउँदै यस विषयमा राजनीति गर्नु ठूलो अपराध र पाप हुने टिप्पणी गरेका छन् । उनले निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५९ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मन्त्रालयमा थन्काईएको भन्दै आफुले ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको र अब टेन्डर आह्वान गर्ने बताए ।
उनले हिमाल, पहाड र तराईका नागरिकसम्म स्वच्छ खानेपानी पुर्याउन ३० अर्बभन्दा बढी रकम आवश्यक रहेको भन्दै हाल ११ अर्ब रुपैयाँको सिलिङमा रहेर बहुवर्षीय आयोजनाका लागि कार्य अघि बढेको जानकारी दिए ।
मन्त्री यादवले तराईका धेरै जिल्लामा खानेपानी योजनाका लागि बजेट विनियोजन भएपनि आफ्नो निर्वाचन क्षेत्र पर्सामा बजेट विनियोजन नगरेको बताए । उनले प्रायः मन्त्रीहरूले आआफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकता दिई अन्य जिल्लालाई ओझेलमा पार्ने गरेको आरोप लगाउँदै आफूले पारदर्शिता अपनाएको स्पष्ट पारे ।
उनले निजगढ नगरपालिकाका सिगौल र रतनपुर क्षेत्रमा खानेपानी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
उनका अनुसार सुनकोशी डाइभर्सन परियोजना अन्तर्गत पर्सा जिल्लासम्म स्वच्छ खानेपानी ल्याउन ४६ अर्बको बजेट प्रस्ताव गरिएको छ । बारा, पर्सा, रौतहटका विभिन्न योजनाहरूलाई समेटेर १५ दिनभित्र डिजाइन टेन्डर आह्वान गरिने जानकारी उनले दिए ।
मन्त्री यादवले जलवायु परिवर्तन र २०७२ को भूकम्पका कारण धेरै पानीका मुहान सुक्दै गएको बताउँदै भूगर्भीय पानीको सतह घट्दै गएकाले खानेपानी समस्या भयावह हुन सक्ने चेतावनी दिए ।
कार्यक्रममा बारा क्षेत्र नं १ का संघीय सांसद अच्युत मैनालीले निजगढमा खानेपानी अभावको विषय स्मरण गर्दै संघीय सरकारले समस्या समाधानमा ध्यान दिएको बताए ।
त्यस्तै पूर्वखेलकूदमन्त्री पुरुषोत्तम पौडेलले निजगढको समग्र विकासका लागि राष्ट्रिय गौरवको आयोजनासँग जोडेर राज्यले ध्यान दिइरहेको बताए ।
कार्यक्रममा मधेस प्रदेश सांसद त्रिलोकी चौधरी, मीना लामा, निजगढ नपाका प्रमुख सुरथ पुरी, पूर्वप्रमुख सुरेश खनाल, पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, नेपाली काँग्रेसका नेता विष्णु खड्का, नेकपा (एमाले) निजगढका उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामहरी खरेल, राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी नगर अध्यक्ष मोजहर मन्सुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चन्डिका उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, निजगढ नगर कार्यपालिका सदस्य सर्मिला सुनार, पवित्रा सुनार, अरुणा विक, फूलमाया बल, संस्थाका पूर्व अध्यक्ष यमबहादुर खड्का, समाजसेवी शम्भुबहादुर बुढाथोकी, रविराज दंगाल, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक, विभिन्न सहकारी तथा सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागि थिए ।
कार्यक्रममा संस्थाका पूर्व सञ्चालक समितिका पदाधिकारी बेनीबहादुर मोक्तान, महेश्वर अधिकारी, मनोज सापकोटा, प्रेमकुमारी खड्का, प्रमिला राउत, कमला रेग्मी लगायत सम्मानित गरिएको हो ।
संस्थाको वार्षिक प्रगति विवरण संस्थाका अध्यक्ष सुदर्शन कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता भट्टराई र लेखा प्रतिवेदन रोशनकुमार तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सुदर्शन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यतिराज सापकोटा र स्वागत सुनमाया लोप्चनले गरेका थिए ।

वि.सं.२०८१ माघ २१ सोमवार १०:०८