skip this

कविता : प्रतीक्षा

4.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्रिय नदी !
तिमी निरन्तर प्रवाहित भइरहनु
तिम्रो धर्म हो
म तिम्रै धारहरूले रेटिएर
तिमीबाटै पर पर धकेलिएर बगर हुनु
मेरो नियति हो ।

म उराठिलो बगर
सधैँ परैबाट उत्सुकताका साथ तिमीलाई नियालिरहन्छु
समयसँगै परिवर्तन हुने तिम्रो स्वरूपलाई
तिम्रो गर्भमा रहेका
हजारौँ आवाजलाई सुनिरहन्छु
तिम्रा सुस्केरासँग जोडिएका
अनेक भावावेगलाई पछ्याइरहन्छु
ती सबै मलाई मधुर लाग्छन् र विशेष महत्व राख्छन्
जसरी फुलेका हरेक फूलका
आफ्नै विशेष सुगन्ध र सुन्दरता हुन्छ ।

मलाई तिम्रो शान्त र रौद्र
दुवै स्वभाव उत्तिकै स्वीकार्य छ
अझ साँच्चो भनूँ ?
मलाई तिम्रो रौद्रतासँग अथाह प्रेम छ ।

किनकि तिमी शान्त भएर एकै लयमा बगिरहँदा
मेरो अस्तित्वमा शून्यताले राज गर्छ
जब तिमी विक्षिप्त हुन्छ्यौ
तब मलाई सम्झिन्छ्यौ
जब गर्जिएर अन्धधुन्ध हुँदै फैलिएर स्पर्श गर्छ्यौ
तब केही समयको लागि सही
ममा पुन: जीवन अङ्कुराउन थाल्छ।

तिम्रै वेगको धारले रेटिएर
अलि पर हुत्तिएर बगर भैसकेको म
तिम्रो शीतलता खोजिरहेको हुन्छ ।

त्यसैले जीवन दिने नदी !
म बगरलाई तिम्रो शान्त रूप मात्र होइन
उग्र रूपको पनि सदा प्रतीक्षा रहनेछ ।

सल्लाघारी, भक्तपुर

nijgadh-supermart-adz1200-630