भक्तपुर उद्योग वाणिज्यले गर्यो सहकार्यको प्रस्ताव
वि.सं.२०७९ असार ३२ शनिवार १३:१७

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुर जिल्लाको आर्थिक समृद्धिको लागि स्थानीय निकाय र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लाको मध्यपुर थिमि तथा चाँगुनारायण नगरपालिकाका प्रमुख एवं उपप्रमुखको सम्मानमा संघले गरेको सम्मान तथा बधाई कार्यक्रममा अध्यक्ष मानन्धरले यसका लागि संघ तयार रहेको बताए ।
विगत ५५ वर्षदेखि जिल्लाको उद्योग व्यवसायको विकास एवं प्रबद्र्धनका लागि क्रियाशील संघले कृषि, हस्तकला र पर्यटनको क्षेत्रको विकासका लागि सहकार्य गर्न दुवै नगरपालिकाहरुको सहयोगको लागि उनले आव्हान गरे ।कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटनको विकासका लागि आफ्नो नगरपालिकामा पनि ठोस कार्य योजना तयार गर्न लागेको बताए । उनले आगामी दिनहरुमा उद्योग वाणिज्य संघसंग सहकार्य गर्दै अघि बढ्न सकिने बताए ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आफू पनि नगर तथा यहाँका जनताहरुको समृद्धि र विकासको लागि प्रयत्नशील रहेको हुनाले लामो इतिहास बोकेको भक्तपुर उद्योग वाणिज्य संघसंग मिलेर नगरको उद्योग व्यवसायको हितमा काम गर्न इच्छुक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा र उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले पनि जिल्लाको आर्थिक विकासमा नगरपालिका र संघबीच सहकार्य गर्न सकिने विषयमा विचार राखेका थिए ।
वि.सं.२०७९ असार ३२ शनिवार १३:१७
















