त्यो दशैं : केटकेटी उमेरमा त दक्षिणा बटुल्नु नै मुख्य लक्ष्य हुन्थ्यो
वि.सं.२०८० कात्तिक ६ सोमवार १७:२०

ती दशैं वा त्यो दशैं ! जसरी सम्झेपनि गुदीकुरा तत्कालीन टट्कारो हालको रमाईलो स्मरणमा रूपान्तरित छ ।
सापक्षमा वर्तमानसमय पैसाभन्दा वस्तु तथा सेवाको महत्त्वमा केन्द्रित छ । त्यसताका वस्तु तथा सेवाभन्दा पैसा नै बढी महत्त्व थियो भन्नेलाग्छ । हुनत: त्यसको मापन गर्ने भरपर्दो साधन त छैन । तरपनि तत्कालीनसमय, मनोविज्ञान तथा वस्तुस्थितिले त्यसतर्फ सङ्केत गर्दछ ।
हाम्रोपालामा ‘भूराहरू’को लागि धेरै राशीको दक्षिणा भनेको २ रूपैयाँ थियो । नत्र अक्सर १ रूपैयाँ हो । अझ केटा भएकोले ‘केटीमान्छेलाई पो दक्षिणा दिने हो, केटालाई कहाँ पाउनू,’ भन्ने ‘सर्वव्यापी बाईट’ सुनिन्थ्यो । मेरोलागि त्यो/ती दशैंको चरीत्र आशिष् र खानाको केन्द्रित थिएन । थियो त केवल एकसूत्रीय उद्देश्य पैसा जम्मा गर्नेमा !
बुवा तत्कालीनसमयको ‘हट्टाकट्टा’ भएकोले सबैले चिन्दथे र गन्दथे । त्यसको प्रचुर उपयोग सम्भवत: मैले दशैंको टीकामा उठाउँथेँ । यो फाईदा शायद मैले २ वर्षसम्म उठाएँजस्तो लाग्छ । बुवालाई सबैले चिन्ने र ‘रोड/चोक’का ‘धनी’ कहलिएकाहरूसँगको उठबसले दशैं आउँदा ‘नातै नपर्नेहरूकहाँ’ पनि म टीका थाप्न जान्थेँ । त्यो टीका थाप्ने आवरणमा भित्रीस्वार्थ भने अर्कै हुन्थ्यो, दक्षिणा जम्मा गर्ने ।
हुनत: आफूभन्दा ठूला मान्छेबाट टीका थाप्नु आफैंमा नराम्रो कुरा थिएन/होईन । तर, उद्देश्य के हो भन्ने मुख्य कुरा हो । म दक्षिणा सङ्कलन गर्ने त्यही उद्देश्य प्राप्तिको लागि बुवाका साथीहरूको घरमा ‘टीका लगाउन आएको’ भन्दै जाँन्थेँ । नआउनु आईहाल्यो भनेर उनीहरूले पनि टीका लगाईदिन्थे र कतिले १ रूपैयाँ दिन्थे । कतिले भने ‘तँ केटा परिस् दक्षिणा दिन मिलेन,’ भन्दै खालीहात पठाउँथे ।
त्यसबेला खिन्न मन लिएर फर्किएपनि अहिले त्यो पल सम्झँदा हाँसो उठ्छ अनि एक्लै पनि आफैंसँग लाज लाएर आउँछ । जे होस् त्यो समयको टट्कारोआवश्यकता हाल रमाईलो स्मरणमा कैद भएको छ ।
-निजगढ–७, बारा ।
वि.सं.२०८० कात्तिक ६ सोमवार १७:२०

















