च्याम्पियन रवीन्द्र ढाँटलाई राष्ट्रपतिद्वारा सम्मान
वि.सं.२०८२ साउन २१ बुधवार १६:४८

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई सम्मान गरेका छन्।
‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले मुलुकको गौरव बढाएको उल्लेख गरे।
सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने, “देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा उपलब्ध गराएर मात्र खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्छन्।”
खेलकुदले शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले ढाँटको खेल कौशल, सामर्थ्य र समर्पणको उच्च प्रशंसा गरे।
राष्ट्रपति पौडेलले ढाँटको सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा खेल क्षेत्रमा सरकार र सम्बन्धित निकायहरू अझ प्रभावकारी रूपमा क्रियाशील हुने विश्वास व्यक्त गरे।
वि.सं.२०८२ साउन २१ बुधवार १६:४८
















