चन्द्रागिरि नगरपालिकाले कृषि प्रयोजनका लागि लिएको ऋणको ब्याज तिरिदिने
वि.सं.२०८० मंसिर ६ बुधवार २१:५१
काठमाडौं-काठमाडौंको चन्द्रागिरि नगरपालिकाले कृषि तथा व्यावसायिक प्रयोजनका लागि लिएको ऋणको ब्याज तिरिदिने भएको छ ।
नगरपालिकाले कृषि, पशु अन्य व्यवसाय लगायत उत्पादन तथा रोजगारमूलक कार्यमा लिएको कर्जाको ब्याजमा अनुदान दिने जनाएको हो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काका अनुसार २-४ वर्षसम्मका लागि कृषि विकास बैंक मार्फत लिएको कर्जाको ब्याजमा नगरपालिकाले अनुदान रकम उपलब्ध गराउने छ ।
बैंकले मूल्यांकन गरेर १५ लाखसम्म कृषि तथा व्यवसाय कर्जा दिनसक्ने र त्यसको ६ प्रतिशत ब्याज नगरपालिकाले तिरिदिने खड्काले बताए ।
मौलिक व्यवसायमा अनुदान
यस्तै चन्द्रागिरी नगरपालिकाले मौलिक व्यवसायमा अनुदान दिने भएको छ । मौलिक सिपलमा आधारित व्यवसाय प्रवर्द्धन गर्न भन्दै व्यक्ति तथा संस्थालार्य अनुदान उपलब्ध गराउन सुरु गरेको हो ।
नगरपालिकाका अनुसार परालको चप्पल, सुकुल, गुन्द्री छाला जुत्ता बनाउने, राडीपाखा बुन्नेदेखि माटाको भाँडा,गुन्द्रुक जुजु धौः बनाउनेसम्मका लागि अनुदान उपलब्ध गराउन लागेको हो ।
खड्काका अनुसार नगरपालिकामा आएको निवदेनको आधारमा व्यवसायको स्तर हेरेर २५ हजारदेखि १ लाखसम्म अनुदान उपलब्ध गराइने छ ।
‘निवदेन परेसँगै व्यवसायबारे अनुगमन गर्छौं, त्यही अनुसार वडा कार्यालयको सिफारिसमा अनुदान दिन्छौं,’ खड्काले भने । अघिल्लो आवमा ५० जनालाई अनुदान दिइएको खड्काले बताए ।
वि.सं.२०८० मंसिर ६ बुधवार २१:५१