जिल्ला सभापति छान्न कांग्रेस बाराको मतदान सुरु
यी हुन् सभापतिको उम्मेदवार
वि.सं.२०७८ फागुन २५ बुधवार ०९:५२

बारा । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन आज कलैयामा सुरु भएको छ । नेपाली कांग्रेसको १४ महाधिबेशन अन्र्तगत हुन लागेको महाधिवेशन विवादको कारण मतदान प्रकृया सुरु भएर पनि स्थगित भएको थियो । पटक–पटक सर्दै आएको र २१ गते भएको निर्वाचनमा विवाद भएको थियो ।
बाराको कलैयास्थित श्री ३ चन्द्र माबिमा मतदान सुरु भएको हो । बिहान ८ बजे देखि सुरु हुने भनिएपछि डेढ घण्टा ढिलो गरि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजे सम्म हुने निमित्त जिल्ला निर्वाचन अधिकृत उप्रेतीले बताए ।

अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षका यादब कलैया उपमहानगरपालिकाका मेयर हुन् भने बुढाथोकी संगठन विभाग प्रमुख हुन् ।
कांग्रेस बारामा कुल २ हजार ४ सय ८० मतदाता रहेको छ भने ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मतदान सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
वि.सं.२०७८ फागुन २५ बुधवार ०९:५२

















