खेलकुदको लगानी विद्यालय तहमा लगेमात्र भविष्यमा प्रतिफल प्राप्त हुन्छ : मेयर पौडेल
एन्फाद्धारा विद्यार्थीहरुलाई खेलकुदका सामाग्रीहरु वितरण
वि.सं.२०८० पुस १९ बिहीवार १२:५२
बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले खेलकुद क्षेत्रबाट प्रतिफल प्राप्त गर्न विद्यालय तहमा लगानी केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।
बाराको जीतपुरसिमरा–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको विद्यार्थीहरुलाई खेलकुदका सामाग्रीहरु वितरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले विद्यालय तहमा लगानी लैजान उपमहानगर तयार रहेको बताए ।
‘एउटा मोडलको विकास गरौं, विद्यालय तहको फुटबलको अवधारणा बनाएर आउनुस्, हामी लगानी गछौं,’ मेयर पौडेलले भने–त्यसमा एन्फाले प्राविधिक पक्षमा नेतृत्व गर्ने र प्रशासनिक र राजनीतिक प्रकारको अगुवाई गर्न उपमहानगर तयार छ ।
विद्यालय तह खेलकुद विकास गर्न अरु क्षेत्रको लगानी काटेर भएर पनि लगानी गर्न आफु तयार रहेको भन्दै मेयर पौडेलले –त्यसको लागि झगडा र बहस गर्न पनि तयार रहेको उल्लेख गर्दै त्यसो भयो भने प्रतिफल आउँने विश्वास व्यक्त गरे । नगरभित्र सामुदायिक ६१ वटा र संस्थागत विद्यालय ५१ वटा रहेको जानकारी गराउँदै त्यसमा प्रभावकारी खेलकुदको डिजाईन बनाएर प्रस्तुत गर्न मेयर पौडेलले एन्फासँग आग्रह गरे ।
मेयर पौडेलले उपमहानगरपालिकाले लगानी गरेपनि प्रतिफल निस्किन नसकेको भन्दै वडा–वडामा सञ्चालन भईरहेको प्रतियोगिताले वडा अध्यक्षदेखि नगरसम्मलाई तनाब दिईरहेको गुनासो गरेका छन् ।
एन्फाले विपन्न बालबालिकाको लागि फुटबल कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्च वहन गर्दै खेलकुद सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष चयन गुरुङ र प्रधानाध्यापक राजु अधिकारीलाई खेलकुद सामाग्री मेयर पौडेलले हस्तान्तरण गरेका थिए ।
एन्फाले २० थान फुटबल, ग्रासउड ट्रेनिङ सामाग्री र शैक्षिक सामाग्री, ८० थान जर्सी वितरण गरेको हो । ग्रासउडमा सहभागि विद्यार्थीलाई एक हप्तासम्म प्रशिक्षण दिईने र ९० प्रशिक्षार्थीलाई दैनिक डाइटको व्यवस्था गरिएको बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
कार्यक्रममा जीतपुरसिमरा वडा नं. १४ का वडा अध्यक्ष चयन गुरुङ एन्फाका उपाध्यक्ष दावा लामा, ग्रासउड संयोजक पंकज शाही, विद्यालयका प्रधानाध्यापक राजु अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, महासचिव प्रकाश गिरी, नव जनजागृती युवा क्लब सिमराका संस्थापक अध्यक्ष राजकुमार भट्टराई, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक बरुण गौतमले सहजिकरण गरेका थिए ।
वि.सं.२०८० पुस १९ बिहीवार १२:५२