skip this

शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुन्छन्–प्रधानमन्त्री दाहाल

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुन्छन्। ”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि शहीदहरुको त्याग र बलिदान नै प्रमुखरुपमा रहेको उनको भनाइ थियो । समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उहाँले शहीद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताएका छन् ।

“हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं । शहीदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले शहीदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पका निम्ति सबैसँग अपिल गर्दछु”, उनले भने, ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शहीदहरुले देखेको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको बताएका छन् । शान्त, समृद्ध र विकसित नेपाल बनाउनसके मात्र शहीदको आत्माले शान्ति पाउने जनाउँदै उनले भने, “शहीदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरु जो जहाँजहाँ छौँ, आ(आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरौँ । सबैसमक्ष मेरो यही अनुरोध छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुग्न नेपाल आमाका धेरै सन्ततिको त्याग, तपस्या र बलिदान रहेको सर्वविदितै रहेको जनाउँदै प्रमुख शाहले आफ्नो जीवनउत्सर्ग गर्ने शहीदको बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् । “अमर शहीदलाई स्मरण गर्ने आजको दिनलाई मैले महत्वपूर्ण र पवित्र पावन दिनका रुपमा लिएको छु”, उनले भने, ।

शहीद सप्ताहको अन्तिम दिन पारेर महानगरद्वारा आज आयोजित सो कार्यक्रममा प्रधानमन्त्री दाहालले लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीद स्तम्भमा पुष्पहार अर्पण गरेका छन् । सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । कार्यक्रमअघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो ।

nijgadh-supermart-adz1200-630