दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय
वि.सं.२०७८ भदौ १ मंगलवार १५:२४
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए । एक दर्जनभन्दा बढी अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढी संसदलाई बिजनेसविहीन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफु र गठबन्धन आवद्ध दलहरूबाट संसदका बारेमा यसअघि भनिएका विषय आडम्बरमात्र भएको पुष्टि भएको उनले बताए ।
गठबन्धनले बिगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ ।
बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।
वि.सं.२०७८ भदौ १ मंगलवार १५:२४