आलमको मुद्दा हेर्न नमिल्नेमा

वि.सं.२०७८ असोज ८ शुक्रवार १३:१५

काठमाडौँ : विस्फोटक पद्धार्थको प्रयोग गरी हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि शुक्रबार पेशीमा चढे पनि हेर्न नमिल्नेमा परेको छ ।
आलमले २०७७ साल असोज १२ गते आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत रौतहटको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उनले थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दायर गरेको सो मुद्दामा हालसम्म सुनुवाइ हुन सकेको छैन ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको सँयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको थियो । तर हेर्न नमिल्ने भएपछि शुक्रबार पनि सुनुवाइ नहुने भएको हो ।
२०६४ चैत २७ गते संविधानसभा चुनावलाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराएको र सो विस्फोटमा घाइते भएकालाई इँटा भट्टीमा हालेर हत्या गरेको आलाममाथि आरोप छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसदसमेत रहेका आलम जेल परेपछि सांसदबाट निलम्बित छन् ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १३:१५