राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूची यस्ता छन्
वि.सं.२०७८ असोज ११ सोमवार १०:२४
काठमाडौँ : संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सचिवालयले बताएको छ ।प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने सम्भावना रहे पनि कार्यसूचीमा राखिएको छैन ।
वि.सं.२०७८ असोज ११ सोमवार १०:२४