ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक आयोजकले उचाल्यो
वि.सं.२०८२ माघ १७ शनिवार २३:२१

बारा–बाराको निजगढ–१० लालस्थित बुद्धचोक मिनि रङ्गशालामा आयोजित चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक योङ स्टार युनाइटेड क्लबले उचालेको छ ।
शनिबार सम्पन्न फाइनलमा खेलमा योङ स्टारले युनाइटेड युवा क्लब, बर्दिबास–८, महोत्तरी विरुद्ध संघर्षपुर्ण जित निकाल्दै आयोजकले उपाधि उचाल्न सफल भएको हो ।
आयोजकले पेनाल्टी शुटआउटमा युनाइटेड युवा क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा निकालिएको हो ।
निर्धारित समयतर्फ योङ स्टारका लागि अभिषेक लामाले गोल गरेका थिए भने युनाइटेडका लागि प्रदिप मगरले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने योङ स्टार ५–४ ले विजयी बन्यो ।
विजेता बनेको योङ स्टारले उपाधिसहित नगद २ लाख १० हजार १० रुपैयाँ हात पार्यो भने उपविजेता युनाइटेडले १ लाख ५ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । योङ स्टारका अजित चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक योङ स्टार कै गोपी बर्तौला बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक योङ स्टारका अभिषेक लामाले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि आयोजक योङ स्टारकै अजित चौधरी घोषित भए ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि नेपाली फुटबल क्लब आरटीएफसी मलेसियाका अध्यक्ष राजु तामाङ्गले खेलमा हार नहुने भन्दै जित र सिकाई हुने बताउनुभयो ।
त्यस्तै वडा नं. १० का अध्यक्ष आशाकाजी श्रेष्ठले ल्होछार कप मधेस प्रदेशकै ब्राण्ड बनेको बताउनुभयो ।
प्रतियोगिताको निरन्तरतासँगै खेल मैदानको समेत विकास भईरहेको बताउनुभयो ।
त्यस्तै क्लबका अध्यक्ष आशिक लामाले प्रतियोगिता सफल बनाउन भूमिका खेलेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अध्यक्ष आशिक लामाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धार्थ लोप्चनले स्वागत र वडा सदस्य कुमार मोक्तानले सञ्चालन गरेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मनमाया मगर, वडा सदस्यहरु, पूर्व वडा अध्यक्ष पदमबहादुर मोक्तान लगायत विभिन्न शैक्षिक, राजनैतिक एवं समाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
वि.सं.२०८२ माघ १७ शनिवार २३:२१
















