skip this farak Kura Pravakar

विवादास्पद अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गर्न मानवअधिकार एलाइन्सको माग

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको विवादास्पद भनाईको चौतर्फी आलोचना भइरहेको छ । यसैक्रममा मानवअधिकार एलाइन्सले मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मानवअधिकार एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको प्रस्ट पारेका छन् ।

सो विज्ञप्तीमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित कार्यक्रममा सामाजिक सद्भाव खल्बलाउने र हिंसा भड्काउने गरी दिएको अभिव्यक्ति प्रति मानवअधिकार एलाइन्स खेद प्रकट गर्दछ‘ भनिएको छ ।

नेपाल सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले २०६३ चैत्र ३ गते तत्कालिन मधेसी जनअधिकार फोरमको नाममा २८ जना तत्कालिन माओवादी समर्थक व्यक्तिहरुको सामूहिक हत्या (गौर हत्या काण्ड) मा निजको दलको संलग्नतालाई सार्वजनिक रुपमा स्वीकार गरेको छ ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) लाई गौर हत्याकाण्ड जसरी नै घेराहाली हत्यागर्ने धम्की दिएकी थिइन् । बहालवाला मन्त्रीले गौर हत्या काण्डको जिम्मा लिने र कुनै पार्टीको नेताको हत्या गर्ने दुरुत्साहनपूर्ण अभिव्यक्ति दिनुलाई मन्त्री पदमा रहने कुनै कानुनी र नैतिक आधार नभएको एलाइन्सको ठहर छ ।

मानवअधिकार एलाइन्सले मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट मुक्त गरि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने, गौर हत्याकाण्डको निष्पक्ष छानवीन गरि उक्त हत्या काण्डका दोषीहरुलाई न्यायको कठघरामा ल्याइनुपर्ने, गौर हत्याकाण्डका पीडितलाई न्यायको अनुभूति गराइनुपर्ने र मुलुकमा दण्डहीनताको अन्त्य गरिनुपर्ने माग समेत गरेको छ ।

nijgadh-supermart-adz1200-630