सेवाग्राही कुटपिट प्रकरण : व्यवहार सुधार्ने मेयर द्वारिकलालको लिखित प्रतिवद्धता

वि.सं.२०७८ साउन २९ शुक्रवार १९:५५

बिराटनगर : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका यमप्रसाद ढकाललाई कार्यालयमै थुनेको विषयमा दुःख व्यक्त गर्दै अबदेखि यस्तो काम नगर्ने लिखित प्रतिवद्धता गरेका छन् ।
खोलामाथि घर बनाएको विषयमा उपमहानगरपालिकामा बोलाएर ढकाललाई मेयर चौधरीले थुनेपछि नेपाली कांग्रेसले उपमहानगरको कार्यालयमा तालाबन्दी गरेकाे थियाे । तालाबन्दीसँगै आन्दोलनमा उत्रिएकाे कांग्रेसका नेतासँग भएको छलफलपछि मेयर चौधरीले लिखित प्रतिवद्धता गरेका हुन् । चौधरीको प्रतिवद्धतासँगै कांग्रेस इटहरीले मेयरको कार्यकक्षमा लगाएको ताला पनि खोलेको छ ।
दुई दिनअघि ढकाललाई मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बोलाएर थुनेपछि कांग्रेसले आन्दोलन सुरु गरेको थियो । आन्दोलित इटहरी कांग्रेससँग मेयर चौधरीले ४ बुँदे सहमति समेत गरेका छन् । सहमतिमा खोला पैनी मिचेका घर भत्काउन कानुनी प्रक्रिया अपनाए नेपाली कांग्रेसले सहयोग गर्ने उल्लेख छ ।
कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल र मेयर चौधरीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘राजनीतिक आग्रह र पूर्वाग्रहबिना खोला पैनी मिचेका घर र संरचना भत्काउन कानुनी प्रक्रिया अपनाए कांग्रेसले सहयोग गर्दछ ।’ छलफलपछि मेयर चौधरीले आगामी दिनमा कर्मचारी र सेवाग्राहीलाई सामाजिक सञ्जालमा गर्ने कमेन्ट र गाली गलौज बन्द गर्नेसमेत सहमति भएको छ । यसअघि, चौधरीले कर्मचारी र सेवाग्राहीलाई समेत गाली गलौज गर्दै आएका थिए ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १९:५५