संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन सकेको छैन–रविन्द्र मिश्र
वि.सं.२०८० वैशाख १६ शनिवार १२:१४

काठमाडौं । शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले बताएका छन् । आज माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।
उपाध्यक्ष मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाएका छन् ।उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
मिश्रले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारेका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए । उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताएका छन् ।
वि.सं.२०८० वैशाख १६ शनिवार १२:१४

















