निजगढबाट उद्धारमा गएको ट्याक्टर दुर्घटना ! एकै परिवारका दुई जनाले ज्यान गुमाए
वि.सं.२०८० मंसिर १७ आइतवार १९:३५

बारा–बारासँग सिमाना जोडिएको मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारीस्थित घरमा आगलागी भएपछि उद्धारका लागि पुगेका दुई जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
स्थानीय ताम्बा माईलाको घरमा आगलागी भएको देखेर उद्धारका लागि गएका स्थानीय ३६ वर्षिय लालबहादुर थिङ र जित बहादुर थिङको ज्यान गएको हो । उनीहरु ठुलबुवा–भजित हुन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको र घटनाले गाँउनै स्तब्द भएको निजगढ नगरपालिका वडा नं. १३ का वडा सदस्य दिपक न्यौपानले जानकारी दिए ।
बाराको निजगढ नगरपालिका वडा नं. १३ भक्तलालबाट उद्धारको लागि गएको म.प.०३–००१ त ६९८७ नम्बर ट्याक्टर तीन सय मिटर तल झरेको थियो । रोडाभेटर जोडेको ट्याक्टर लालबहादुरले चलाएका थिए । दुर्घटनाबाट ट्याक्टर क्षतिग्रष्ट भएको छ ।
घर जलेर ध्वस्त
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जस्ताको छानो लगाएको दुई तले घरमा कोहि नभएको अवस्थामा विद्युत गडबडीबाट आगो लागेको थियो ।
घरधनी मानबहादुर घलानका १०६ वर्षिय बुवाको निधन भएपछि काजकिरियाका लागि एक किलो मिटर पर रहेको मुलघरमा सबै गएका थिए ।
विद्युत गडबाडीबाट आगलागी भएको घरमा पुगेका उनीहरु त्यहाँबाट लालबहादुरले ठुलबुवालाई घरमा पु¥याउन जाने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको हो । जित बहादुर घटनास्थल भन्दा केहि पर बस्छन् भने लालबहादुर बाराको निजगढ १३ भक्तलालमा बस्छन् ।
घटनास्थलमा बाराको प्रहरी टोली पुगेको थियो । प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौंडा पठाएको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १९:३५