निजगढको सहकारी संस्थामा समस्या छैन, बचतकर्ता डराउनुपर्दैन : नेफ्स्कुन संचालक राउत

वि.सं.२०८० पुस १४ शनिवार २०:३९

बारा–नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) संचालक शोभा राउतले निजगढका सहकारीमा समस्या नभएको भन्दै बचतकर्तालाई नडराउन आग्रह गरेकी छिन् ।
बाराको निजगढमा अवतार बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक राउतले निजगढमा सहकारी सञ्चालक र सेयर सदस्य सचेत भएकै कारण समस्या नआएको बताईन् ।
‘कतिपय साथीहरुले सबै सहकारी भागे, संस्थामा बचत गरेर के गर्नु भन्नु हुन्छ,’ उनले भनिन्–बचत चाँही बैंकमा गर्नुहुन्छ अनि ऋण सहकारीबाट निकाल्नु हुन्छ र सहकारीमा साउँब्याज तिर्नुहुन्न, यसले सहकारीमा समस्या आउँछ । त्यसैले सहकारीबाटै कारोबार गर्नुस्, बचत गर्दा आफुले बचत गरेको पैसा संस्थामा जम्मा भएको छ कि छैन, बेला–बेलामा गएर चेकजाँच गर्ने गर्नुस् ।
सहकारीको बढ्दो संख्याले समस्या सृजना भईरहेको भन्दै राउतले कोभिड संक्रमणपछि व्यवसायमा देखिएको संकटको असर सहकारीमा परेको बताईन् । उनले निजगढमा सहकारीमा समस्या नभएको उल्लेख गर्दै समस्या हुन र नहुनुमा सेयर सदस्यहरुको ठुलो भूमिका हुने बताईन् ।
‘नियमित बचत गरेका छौं कि छैनौं, ऋण लिएर त्यसको व्याज र किस्ता तिरेको छौं कि छैनौं, नियमित साधारण सभा भएको छ कि छैन त्यसमा भर पर्छ,’ उनले भनिन्–शहर केन्द्रित सहकारीमा कोठाभित्रै साधारण सभा गरे सदस्यलाई घरघरमा गएर गएर हस्ताक्षर गराउने प्रवृत्ति देखिएको छ ।
निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी राउतले सञ्चालक समितिले गडबड गर्दा समस्या आउने गरेको भन्दै गैरसदस्यलाई ऋण दिने, आफु निकटलाई ऋण प्रवाह गर्ने र अनुत्पादक क्षेत्रमा लगानी गर्ने जस्ता समस्याले सहकारीमा संकट निम्तिने गरेको सुनाईन् ।
कार्यक्रममा प्रदेश सांसद मिना लामा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, कार्यपालिका सदस्य मनमाया लामा, सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम, लोकप्रिय साकोसका अध्यक्ष अम्विका प्रसाद चौलागाई, आईएममी लाईफ इन्स्योरेन्सका मधेस प्रमुख रविशंकर सरार्फ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०८० पुस १४ शनिवार २०:३९