skip this farak Kura Pravakar

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्रगतिमा

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रु ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडक खण्ड स्तरोन्नति थालिएको हो ।

मध्य पहाडी लोक मार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौँले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करिब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ । स्तरोन्नतिको काम भइरहेको सडक खण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताउनुभयो । “स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले दक्ष जनशक्तिसहित करिब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।”

विसं २०७६ मङ्सिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम सुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मङ्सिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ ।

सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखित रूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौँलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।”

गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।

साकेला गाउँपालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महिना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताउनुभयो ।

जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् । साकेला गाउँपालिकालाई मध्य पहाडी लोक मार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।

गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।

nijgadh-supermart-adz1200-630