उद्योग वाणिज्य संघको कार्यालयमा ताला
वि.सं.२०७८ माघ २९ शनिवार १७:५७

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते हुने भएको छ । शुक्रबार बसेको बैठकले बहुमत सदस्यहरुको उपस्थितिमा सो निर्णय भएको हो । २६ सदस्यीय समितिमा १५ जनाले चुनावको पक्षमा हस्ताक्षर गरेका छन् भने चार जनाले नोट अफ डिसेन्ट जनाएका छन् ।
विपक्षी समूहले नोट अफ डिसेन्ट जनाएर विरोध गरेको केहि समयमै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सहसचिव हरि विष्ट, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालगायतको टोलीले कार्यालयमा तालाबन्दी समेत गरेको छ ।
नेपाली काँग्रेसमा आबद्ध अधिकांश सदस्य रहेको उक्त संघमा पछिल्लो समयमा काँग्रेसको चर्को गुटबन्दीका कारण तालाबन्दी भएको हो । सुर्खेतमा तालाबन्दी गर्नेहरु उपसभापति पूर्णबहादुर खड्का निकटका हुन भने अध्यक्षसहितका अन्य पदाधिकारीहरु हृदयराम थानी निकटका हुन् ।
महासचिव लक्ष्मण कडेलले गैर–व्यवसायीहरुलाई सदस्यता दिएको र आफु निकट व्यवसायीहरुलाई नवीकरण गर्ने मौकासमेत नदिएको खड्का पक्षले आरोप लगाएको छ ।
वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरु बाहिर भएमा संस्था र व्यवसायी दबैैलाई बेफाईदा हुने भएकाले आफुहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
१ हजार २ सय जना व्यवसायीहरुले नवीकरण गर्न नपाएको र उनीहरू संस्थाबाट बाहिर हुँदा संस्था र व्यवसायी दुबैैलाई फाईदा नहुने उनको तर्क छ । खड्काले कोभिडका कारण व्यवसाय नचलेकाले नवीकरणका लागि केही राहत दिन माग गरेको बताए ।
नविकरण नभएका व्यवसायीहरुको हकमा जरिवाना नलगाई पुनः नविकरण गरिदिन संघमा निवेदन दिदापनि सुनुवाइ नभएको उनको गुनासो छ । शुक्रबारको वैठकले कार्यसमितिको बहुमतले निर्णय गर्दै नवीकरण गर्न छुटेकोहरुको माग सम्बोधन नगर्ने निर्णय गरेको थियो । त्यस लगत्तै नेपाली कांग्रेस सुर्खेतका पदाधिकारी सहितको खड्का निकटका व्यवसायीहरुको एक टोलीले संघमा ताला लगाएको हो ।
संघका महासचिव लक्ष्मण कँडेलले भने संघलाई गैरव्यवसायीहरुवाट मुक्त गराउने उद्देश्य बमोजिम निर्वाचनमा जाने निर्णय गरिएको दाबी गरे । विगतमा निर्वाचनमा मुखैमा निस्कने ४/५ को सदस्यता यसपटक बन्द गरेको र सुर्खेतको पूर्वी क्षेत्रमा अर्को संघ खुलेकाले सबैको नवीकरण हुन नसकेको उनले बताए ।
हालसम्म १ हजार ८ सय भन्दा बढिले सदस्यता नविकरण गरिसकेकाले निर्वाचन कुनैपनि हालतमा नरोकिने उनले प्रष्ट पारे । कँडेलले ७/८ सय जति सदस्यता नविकरण गर्न बाँकी रहेको आफुले सुनेको प्रतिकृया दिए ।
वि.सं.२०७८ माघ २९ शनिवार १७:५७
















