मकवानपुर–२(ख) बाट कांग्रेसका ईन्द्र बानियाँ निर्वाचित
बानियाँको राजनीतिक यात्रा
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:२१

मकवानपुर-प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर–२ (ख) बाट नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी २०७४ को निर्वाचनमा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । यस पटक नेकपा एमालेका लालबहादुर थापा मगरलाई पराजित गर्दै बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
४० हजार ५९९ मत खसेकोमा बानियाँले १८ हजार ७१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका थापा मगरले १६ हजार ९३५ मत प्राप्त गरे । निर्वाचन परिणामबारे मुख्य निर्वाचन अधिकृतले घोषणा गर्न भने बाँकी छ ।
बानियाँको राजनीतिक यात्राः विगतदेखि वर्तमानसम्म
ईन्द्रबहादुर बानियाँ मकवानपुरको राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिस्टको ‘लाल किल्ला’ भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए । त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घा मगरलाई पराजित गरेका थिए ।
३५ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्लाको नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका बानियाँ त्यतिबेला भने पराजित भए । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । बानियाँले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरे ।
मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए ।
बानियाँ २०७३ चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए ।
मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको अधिवेशनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भए । बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको दावेदार मानिएको छ ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:२१
















