खानेपानी मन्त्री चौधरीले भल्व खोलेर गरे मेलम्चीको पानी वितरण सुरु (भिडियोसहित)
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १२:३४

काठमाण्डौं–खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकालचौर शाखापरिसरस्थित ३२ इन्चको भल्व खोलेर मेलम्चीको पानी वितरण सुरु गरेका छन् ।
मेलम्ची खानेपानी पुनः वितरण शुभारम्भ कार्यक्रममा मन्त्री चौधरीले तेस्रो पटक पुनः मेलम्ची खानेपानी वितरण शुभारम्भ गरेका हुन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानीमा वितरण गरिएको हो ।
काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडका सञ्चालक समिति सदस्य राम थापाको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख सल्लाहकार जनार्दन नेपाल, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, खानेपानी मन्त्रालयका सचिव ई. मणिलाल गेलाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, मेलम्ची खानेपानी आयोजना कार्यकारी निर्देशक ई. कमलराज श्रेष्ठ, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक ई. राजेन्द्र सापकोटा, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडका उप–कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्की, काठमाण्डौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल होडा, वडा नं. ८ का अध्यक्ष आशमान संगत लगायतले मन्तव्य राखेका थिए ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो ।
केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उनले बताए । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।
भिडियो
https://www.facebook.com/faraknepaltv/videos/1003679961023115
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १२:३४

















