बागमतीका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथ आज गराइदै
वि.सं.२०७९ पुस १४ बिहीवार १०:११

काठमाडौं । आज दिउँसो २ बजे बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइने भएको छ ।नवनिर्वाचित सांसदहरुले बागमती प्रदेशसभा सचिवालय हेटौंडामा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरुलाई शपथका लागि आइतबार नै सुचना जारी गरिएको थियो । यस्तै, १५ जना सांसदले मातृभाषामा शपथ लिन नाम टिपाएका छन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिन नाम टिपाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
११० सदस्यीय सांसदहरु निर्वाचित बाग्मतीमा १०९ जना सांसदहरुले आज शपथग्रहण गर्न लागेका हुन् ।उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने कार्यक्रम छ । सांसद ढुंगानाले बुधबार नै प्रदेश प्रमुखद्वारा शपथ गराइएको थियो ।शपथमा आउँदा अनिवार्य रुपमा राष्ट्रिय वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा आउन निर्वाचन आयोगले सार्वजनिक सुचना जारी गरेको थियो ।
वि.सं.२०७९ पुस १४ बिहीवार १०:११

















