जीतपुरसिमरा नगरसभामा तोडफोड प्रकरण : क्षतिपूर्ती भराउने बारे सिडियो कार्यालयले काट्यो पत्र
वि.सं.२०८१ साउन ३२ शुक्रवार १८:१९
बारा–असार १० मा जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको तेस्रो बैठकमा तोडफोडमा संलग्न रहेका जनप्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय बाराले पत्र काटेको छ ।
नगर सभामा मेयर राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको अवस्थामा केहि जनप्रतिनिधिले टेबल, कुसी, माईकसहित प्रत्यक्ष प्रशारणका सञ्चार सामाग्री तोडफोड तथा क्षति पुग्ने गरि अराजकता मच्याएका थिए ।
जीतपुरस्थित प्राईस पाटी (पुरानो शिवपावर्ती हल) मा भएको तोडफोडको विषयमा सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोध कार्यक्रमबाट हुने क्षति मूल्याङ्गन सम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ६ को दफा ११ बमोजिम क्षतिपूर्ती भराउने विषयमा स्पष्टिकरण पत्र काटिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।
पत्रमा भनिएको छ–क्षतिको विगो असुल गराउनु पर्ने हो/होइन ? सोबमोजिम विगो असुल गराउन नपर्ने भएमा यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र सो को जवाफ पेश गर्नु होला ।
तोकिएको म्यादभित्र जवाफ प्राप्त नभए वा प्राप्त पत्र जवाफ तथ्यपरक र सन्तोषजनक नदेखिएमा विगो असुल गर्नेतर्फ कारबाही भईजाने व्यहोरा पत्रमा मार्फत सूचित गरिएको छ ।
तोडफोडबारे उपमहानगरले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको थियो । पत्र र भिडियो क्लिप्स (फुटेज) को अध्ययनपछि कार्यविधि अनुसार सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई नेतृत्वको समितिले अनुसन्धान र कारबाही अघि बढाएको छ ।
क–कसलाई काटियो पत्र ?
जिल्ला प्रशासन कार्यालय बाराले ७ जना वडा अध्यक्ष र दुई जना वडा सदस्यलाई पत्र काटेको छ । स्रोतका अनुसार वडा नं. २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, वडा नं. ७ की वडा सदस्य सीता उप्रेतीलाई पत्र काटिएको छ ।
त्यसैगरि वडा नं. ८ का वडा अध्यक्ष शिवशंकर प्रसाद कोइरी, वडा नं. ८ का वडा सदस्य गंगा राउत कुर्मी, वडा नं. १४ की वडा अध्यक्ष चयन गुरूङ्ग, वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल, वडा नं. १७ का वडा अध्यक्ष भिम बहादुर स्याङतान, वडा नं. २१ का वडा अध्यक्ष सुबाश श्रेष्ठलाई पत्र काटिएको छ ।
वि.सं.२०८१ साउन ३२ शुक्रवार १८:१९