वर्षाका कारण पहिरो खस्दा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध
वि.सं.२०७९ साउन ४ बुधवार ११:०७

काठमाडौं । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडक खण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।
गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएपनि यस खण्ड समेत पटक पटक पहिरोले अवरुद्ध हुँदै आएको छ । सडकखण्ड अबरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।
वि.सं.२०७९ साउन ४ बुधवार ११:०७

















