जीतपुरसिमरा नगर शिक्षा समिति : स्वार्थ बाझिने गरि नीजि विद्यालय सञ्चालक समितिको सदस्य
१९ सदस्यिय समितिमा ६ जना मनोनित भए
वि.सं.२०८० फागुन १० बिहीवार २२:०५

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको २५ औं कार्यपालिका बैठकको निर्णय विहीबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।
नगर प्रवक्ता भोज बहादुर खत्रीले सार्वजनिक गरेको बैठकको निर्णय नं. ४ मा नगर शिक्षा समितिको सदस्य मनोनित गरिएको विषय रहेको छ । विहीबार ६ जना मनोनित भएका हुन् । उनीहरु सबै कार्यपालिका सदस्य हुन् ।
मेयर राजन पौडेल संयोजक रहने गरि सदस्यमा कार्यपालिका सदस्य हिरा बहादुर गुरुङ्ग, चयन गुरुङ्ग, हरिदेव खरेल, पवित्रा माया कार्की, नविन मैनाली र सुरेश प्रसाद यादवलाई बैठकले मनोनित भएको हो ।
समितिको सदस्य मध्ये हिराबहादुर गुरुङ्ग वडा नम्बर १ वडा अध्यक्ष हुन् । त्यस्तै चयन गुरुङ्ग वडा नम्बर १४ कि वडा अध्यक्ष हुन् ।
त्यस्तै हरिदेव खरेल वडा नम्बर १६ का वडा अध्यक्ष हुन् । त्यस्तै कार्की र मैनाली वडा सदस्य हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १५ को उपदफा (१) बमोजिम नगर शिक्षा समितिको सदस्यहरुमा तपसिलका ६ जना कार्यपालिका÷नगर सभा सदस्यहरुलाई मनोनयन गरिएको वैठकको सार्वजनिक निर्णयमा उल्लेख छ ।
यो समितिको नेतृत्व नगर प्रमुखले गर्ने ऐनमा व्यवस्था छ । जसमा १९ जना सदस्य हुनेछन् ।

खरेलको मनोनयन स्वार्थ बाझिने
समितिको सदस्य मनोनित भएका वडा अध्यक्ष हरिदेव खरेल संस्थागत विद्यालय सञ्चालक समेत हुन् । उनको बारा एकेडेमी अग्रेजी माध्यमिक विद्यालय रहेको छ ।
स्वार्थ बाझिने विषयमा संलग्न हुन नहुने प्राकृतिक न्यायको शिद्धान्त रहेको छ । तर, जीतपुरसिमराको नगर शिक्षा समितिमा भने सदस्य नै स्वार्थ बाझिने गरि मनोनय गरिएको पाईएको छ ।
त्यसो त कार्यसम्पादन नियमावलीको नियम २७ मा समेत यो व्यवस्था प्रष्ट उल्लेख छ ।

खरेल उनै वडा अध्यक्ष हुन् जसले नगरले सरुवा गरेको शिक्षकलाई आफ्नो वडाको सामुदायिक विद्यालयमा हाजिर हुन र सरुवा भएर जान लागेकालाई वडा कार्यालय खेल्नु पर्ने भूमिकाबाट हात झिकेर हलो अड्काउँदै आएका छन् ।

केहि दिनयता विद्यालय शिक्षा र विद्यार्थीको सिकाईको सर्वेक्षण गर्न खटिएका जीतपुरसिमराका तीन वटै सामुदायिक कलेजका विद्यार्थीलाई मेयर राजन पौडेलले कार्यकर्ता बनाएको टिप्पणी गरेका छन् । उनले कार्यक्रममा भ्रष्टचार भएको आरोप समेत लगाउँदै निरन्तर रुपमा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिदै आएका छन् ।

वि.सं.२०८० फागुन १० बिहीवार २२:०५


















