सरु बस्नेतको कविता सहिदको सम्मान र सम्झनामा
वि.सं.२०७८ माघ १६ आइतवार २२:२८

सरु बस्नेत
शीर्षक : सहादत
छन्द : शार्दूलविक्रीडित
सुम्पी प्राण शहीदले रगतकाे खोलो बगाए किन ?
हाँस्दै अर्पित ज्यानकाे पनि गरे केकाे तिरेका ऋण ?
गोली थाप्न तयार जाे अघि थिए ती चाैडिला वक्षमा ।
गुच्छा अर्पण गर्दछाैँ सब मिली सम्मानका कक्षमा ।१।
झुन्ड्याईकन मारिए गल थिची इच्छा थियाे के कसाे ?
बेची आज सपूत नाम तिनकाे मेसाे मिलाए यसाे ।।
आँखा चिम्म गरेर के नयनमा देखिन्छ सारा कुरा ?
ए ! जम्मै उठ जाग गाउँ घर हाे उम्रून् नयाँ आँकुरा ।२।
नेता भ्रष्ट हुँदा सबै सहिदका आस्था बने लज्जित ।
राम्रा काम कहाँ ! मिलून् र जनता सारा भयाैँ वर्जित ।।
बिग्रेका मति भ्रष्ट छन् ढुलमुले नेता पजेरो चढी ।
गर्छन् भाषण अर्थहीन तिनले सत्कर्मभन्दा बढी ।३।
खान्छन् टन्न लुटेर राष्ट्र-ढुकुटी नेताहरू मात्तिँदै ।
आत्मा रुन्छ शहीदको गगनमा हेरी यता आत्तिँदै ।।
हाम्रो भाे अपमान व्यर्थ सपना मा-याै सुधी भावना ।
साेध्दै छाैँ अहिले सबै सहिदकाे यस्तै थियाे चाहना ? ।४।
गङ्गालाल र धर्मभक्त गुनिला हे शुक्रताराहरू !
भाँचिन्छन् अब अस्थि दुष्ट खलका पापिष्ट दाह्राहरू ।।
छन् तिम्रा जति जे सहादत सबै पूरा हुनेछन् अब ।
हाम्राे त्याग र कर्मले अब छिटै याे देश हाेला नव ।५।
-निजगढ बारा
वि.सं.२०७८ माघ १६ आइतवार २२:२८


















