न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री

वि.सं.२०७८ असोज ६ बुधवार १६:१३

काठमाडौँ : नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् ।
बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन् ।
५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र विपक्षमा बहस भइरहेको छ ।
नेपालमा यो विषयमा बहस भइरँदा अघिल्लो हप्तामात्र एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन् ।
परराष्ट्रमन्त्री खड्का बुधबारै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् ।
महासभाका क्रमममा साइडलाइन वार्ताका लागि मन्त्री आवश्यक रहेपछि प्रधानमन्त्री देउवाले उनलाई बुधबारमात्र मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
बुधबारै शपथ ग्रहणपछि डा. खड्काले कार्यभार सम्हाले ।
उनले न्यूयोर्कमा रहँदा नेपालको कूटनीति विषय उठाउने बताए । उनले परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने बताए ।

वि.सं.२०७८ असोज ६ बुधवार १६:१३