परराष्ट्रमन्त्री खड्का न्युयोर्क पुगे, महासभालाई ११ असोजमा सम्बोधन गर्ने
वि.सं.२०७८ असोज ८ शुक्रवार ०९:१४
काठमाडौँ : पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।
नेपाली प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका छन् ।
‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही ११ असोजमा सम्बोधन गर्ने छन् ।
न्युयोर्कमा रहँदा पराष्ट्रमन्त्री खड्काले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा जानकारी दिए ।
प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी रहेका छन् ।
वि.सं.२०७८ असोज ८ शुक्रवार ०९:१४