यी हुन् गठबन्धनका तर्फबाट सातै प्रदेशमा बन्न लागेका मुख्यमन्त्रीहरु

279 shares

काठमाडौं । संघमा सात दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेसँगै सातवटा प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । गठबन्धनका यी दुई ठुला दलबीच सात प्रदेशमध्ये चारवटामा एमाले, दुईवटामा माओवादी केन्द्र र एउटा (मधेस प्रदेश) मा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको छ। माओवादी केन्द्रलाई पहिलो साढे दुई वर्ष संघीय सरकारको नेतृत्व दिने समझदारी गर्दै एमालेले राष्ट्रपति र प्रतिनिधिसभाको सभामुख लिने भएको छ ।

यी हुन् सातै प्रदेशमा बन्न लागेका मुख्यमन्त्रीहरु

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रबाट शालिग्राम जम्कट्टेल, सरल सहयात्री पौडेल, युवराज दुलाल र एमालेका रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, जेएन थपलियासहित आकांक्षी छन् । एक सय १० सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। वाग्मती प्रदेशमा सत्ता गठबन्धन दलको ६१ सांसद छन् ।

गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढी छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । त्यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक सांसद छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, जसपाका लालबाबु राउत, जनमत पार्टीका महेशप्रसाद यादव र त्रिभुवन साहको नाम चर्चामा छ। मधेस प्रदेशसभा १०७ सदस्यीय छ । सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

१ नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेबाट हिक्मत कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोको दाबी छ । त्यहाँ सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ सत्ता गठबन्धन एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ जसपाका १ सांसद् छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका भूमिश्वर ढकाल, लिला गिरी, रामजीप्रसाद घिमिरेसहित र माओवादीबाट जोखबहादुर महरा र इन्द्रजित थारू आकांक्षी छन् । ८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदकोल समर्थन चाहिन्छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्वमा पनि माओवादी र एमाले दुवैैको दाबी छ । कर्णालीमा एमालेका यमलाल कँडेल र माओवादी केन्द्रका राजकुमार शर्मा संसदीय दलको नेता चयन भइसकेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका खगराज भट्ट, ओमविक्रम भाट र एमालेका राजेन्द्रसिंह रावल, धर्मराज पाठक, चक्र मल्ल आकांक्षी छन् ।