त्रिलोकी विरुद्ध बारा १ (क) मा एमालेका तीन बागि उम्मेदवार
के हो असन्तुष्टि ?
वि.सं.२०७९ असोज २८ शुक्रवार ११:०५

काठमाडौं– २०७४ मा बाम गठबन्धनबाट निर्वाचन जितेका प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरी पाँच वर्षपछिको मंसिर ४ को निर्वाचनको लागि मनोनय दर्ता गर्न जाँदा आफ्नै कार्यकर्ताको घेराबन्दीमा परे ।
कार्यकर्ताले घेरेर उनको मनोनयन पत्र च्याति दिए । घेराबन्दी तोडेर उम्मेदवारी दर्ता गराएका त्रिलोकीलाई यो पटक आफ्नै पार्टीभित्रको घेराबन्दी तोड्नु पर्ने अवस्था आएको छ ।
के हो असन्तुष्टि ?
त्रिलोकी विरुद्ध उठेको आवाजको अन्तर्य बुझ्दा भुगोल, गुट र समुदायको निरन्तरताप्रतिको असन्तुष्टि देखिन्छ ।
कोल्हवी घर भएका चौधरीले टिकट ल्याउँदा निजगढ क्षेत्रमा असन्तुष्टि जगाएको छ । पटक–पटक सोहि क्षेत्रबाट उम्मेदवार उठाउँदा निजगढले न प्रतिनिधि सभा, न प्रदेश सभाको उम्मेदवार पायो ।
पार्टीले ओली निकटलाई टिकटमा निरन्तरता दिएको छ । प्रतिनिधि सभामा अच्युत मैनाली र प्रदेश सभामा त्रिलोकीलाई निरन्तर टिकट दिईएको छ । यो पटक यसमा सुधार हुने अपेक्षा विपरित टिकट वितरण भएपछि असन्तुष्टि बढ्यो ।
थारु समुदायलाई मात्र टिकट दिने र पहाडी समुदायलाई उपेक्षित गरिएको असन्तुष्टहरुको तर्क छ । समुदायको सन्तुलन पनि मिलाउन पार्टी नेतृत्व चुकेकोमा उनीहरुको आक्रोश छ ।
प्रदेश सांसदका रुपमा पाँच वर्ष विताएका त्रिलोकीले अपेक्षित रुपमा काम गर्न नसकेको र नजिककालाई मात्र सेटिङ्गमा योजना बाँडेको आरोप लगाईएको छ ।
बागी उम्मेदवार
उम्मेदवारको सन्तुलन मिलाउन नसक्दा एमालेका प्रभावशालीको नेताले पार्टी छाड्ने र बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेका प्रभावशाली नेता एवं निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उम्मेदवारी फिर्ताको दिन पार्टी परित्यागको घोषणा गरे । उनलाई निजगढ नगरपालिकाका मेयरका प्रत्यासी नारायण खड्का, अर्का नेता गोपाल लम्सालले साथ दिदै पार्टी छाडेका छन् । ।
त्रिलोकी विरुद्ध उम्मेदवारी दिएका नेता श्रेष्ठले जेब्रा चुनाव चिन्ह पाएका छन् । चुनाब चिन्ह पाएसंगै असन्तुष्टको जनमत आकर्षित गर्न एकबहादुर कार्यकर्ता भेटघाटमा जुटिसकेका छन् । नेता–कार्यकर्ताबाट प्रतिकृया राम्रो आईरहेको बताउँदै उनले जित्ने लक्ष्यका साथ अघि बढिरहेको बताउँछन् ।
त्यसैगरि एमालेका जिल्ला सदस्य देवराज घिमिरे ‘रमण’ ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरि अर्का नेता शिव नारायण चौधरी थारुको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।
यो क्षेत्रबाट सत्ता गठबन्धनले कांग्रेसका युवा नेता रमेश दंगाललाई अघि सारेको छ । उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । उनी निजगढको पुरानो कांग्रेसी परिवारका हुन् ।
यी हुन् अन्य उम्मेदवार
जनमत पार्टी– युवराज मैनाली
हाम्रो नेपाली पार्टी– भेष बहादुर ढकाल क्षेत्रि
नागरिक उन्मुक्ति पार्टी– राधा कुमारी चौधरी
मंगोल नेशनल अर्गनाइजेसन– मदन बहादुर बम्जन
राष्ट्रिय प्रजातन्त्र पार्टी– लक्ष्मी प्रसाद सा कलवार
नेपाल सुशासन पार्टी (एकल चुनाव चिन्ह)– दामोदर पनुहर
स्वतन्त्र– सन्नी लामा
वि.सं.२०७९ असोज २८ शुक्रवार ११:०५


















