राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्तैन–उपसभापति खड्का
वि.सं.२०७९ पुस २ शनिवार १०:५३

काठमाडौं। राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।
उपसभापति खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन् ।खड्का मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुर्खेत–१ बाट विजयी भएका थिए।
उपसभापति खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो। मेरो प्रष्ट धारणा छ, राष्ट्रपति देश,जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नु पर्छ। यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन।’
वि.सं.२०७९ पुस २ शनिवार १०:५३

















