आज भारतीय विदेश सचिव क्वात्रा नेपाल आउदै
वि.सं.२०७९ फागुन १ सोमवार ०८:२४

काठमाडौं। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन् । उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख) सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव क्वात्रा आज बिहान काठमाडौँ आइपुग्ने भारतीय दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने छन् । सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७९ फागुन १ सोमवार ०८:२४

















