कुमारी बैंक डुमरवाना शाखाको एटिएम मेसिन चोरले फोड्यो, पैसा लान सकेन !
वि.सं.२०८० मंसिर १० आइतवार १३:३७

बारा–कुमारी बैंक डुमरवाना शाखाको एटिएम मेसिन फोडेर शनिवार राती पैसा चोरी गर्ने प्रयास भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको बैंकको एटिएम मेसिन चोरले फोडेका हुन् ।
बैंकमा रहेका सुरक्षागार्डले आइतबार बिहान करिब ३ः३० बजे एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए । सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेका थिए ।
बैंकका अनुसार राती १ः५० बजेदेखि सिसिटिभी क्यामरा बन्द अवस्थामा छ । सटर फोडेलगत्तै क्यामरा फुटाएर चोरले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए ।
भल्ट नखुल्दा पैसा निस्केन
सटर फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोड्दै पैसा चोरी गर्ने प्रयास गरेका थिए ।
भल्ट नखुलेका कारण पैसा भने चोरी हुन पाएन । भल्ट फुटाउन नसकेका कारण पैसा सुरक्षित रहेको बताइएको छ । घटनापछि बैंकले प्रहरीको उपस्थितीमा एटिएम मेसिन भित्र रहेको पैसा जाँच गर्ने तयारी गरिरहेको छ ।
बैंकका शाखा प्रवन्धक पंकजकुमार उपाध्यायले एटिएम मेसिनको अवस्था हेर्दा पैसा चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा ‘भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एटिएम मेसिन फोड्नेको खोजी भईरहेको बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको क्षेत्रीले जानकारी दिए ।
एक साताअघि सहकारीमा चोरी
सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा एक साता अघि चोरी भएको थियो । चोर समुहले सहकारीबाट नगद र सरसमानसहित ८३ हजार बराबारको चोरी गरेको हो ।
एक साता वितिसक्दा समेत चोरीमा संलग्नको पहिचान खुलेको छैन ।
वि.सं.२०८० मंसिर १० आइतवार १३:३७
















