यी हुन् विभूषण नलिने घोषणा गर्ने
वि.सं.२०७८ असोज ३ आइतवार १२:४७
काठमाण्डौं : संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गरेको पदक नलिने घोषणा गर्ने क्रम सुरु भएको छ ।
यसरी पदक अस्वीकार गर्नेहरुको सूचीमा पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमी र पत्रकार हरि थापा छन् ।
पीएल सिंह, पूर्वमन्त्री
संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो ।
वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ ।
रविन सायमी, कार्टुनिस्ट
कार्टुनिस्ट रविन सायमीलाई सरकारले ‘प्रबल जनसेवा श्री’ प्रदान गरेको छ । उनले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए । ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् । आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे भएकाले यो पदक लिन नसुहाउने’ उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।
हरिबहादुर थापा, पत्रकार
पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् । इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत सरकारबाट विभूषण नलिने घोषणा गरेका हुन् ।
पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गरेका छन् ।उनले पदक वितरणको विधि र पारदर्शितामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’
सरकारले सातौं संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ ।
वि.सं.२०७८ असोज ३ आइतवार १२:४७