महिलामाथि हुने हिंसा र बहुविवाहविरुद्ध आवाज उठाउँदै नेकपा (एस) का महिलाहरुले मनाए तीज विशेष कार्यक्रम
वि.सं.२०८२ भदौ ६ शुक्रवार २३:५१

काठमाडौं-महिलामाथि हुने हिंसा र बहुविवाहलाई वैधानिकता दिन खोज्ने कानुनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट महिला नेतृहरूले राजधानीमा आयोजित तीज विशेष कार्यक्रममा कडा आपत्ति जनाएका छन्।
राष्ट्रिय सभा सदस्य तथा पार्टीकी उपाध्यक्ष जयन्ती राईले प्रमुख अतिथिको आसनबाट बोल्दै पूँजीवादी सोचको समाजले बच्चाको नाम र जन्मदर्ता प्रयोग गरेर बहुविवाहलाई वैधानिकता दिन खोज्नु महिलामाथि ठूलो अन्याय भएको बताइन्। उनले भनिन्, “पहिल्यै हिंसामा परिरहेका महिलामाथि अझै दबाब सिर्जना गर्ने यस्तो विधेयक हामी कुनै हालतमा पास हुन दिने छैनौं।”
तीज पर्वलाई ऐतिहासिक चाड भन्दै उनले विगतमा महिलाले वर्षमा एकपटक मात्र माईती जाने, मिठो खाने र राम्रो लगाउने अवसर पाउने अवस्था भए पनि आज परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गरिन्। साथै निजामती कर्मचारीहरूको समस्या उठाउँदै उनले लामो समयसम्म सेवा गरे पनि कार्यालय सहयोगी वा महिला अधिकृतलाई स्थायीकरण नगर्ने सरकारी नीतिप्रति असन्तोष प्रकट गरिन्।
त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) अनेम संघकी केन्द्रीय अध्यक्ष मनु सिग्देलले तीजलाई महिला मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको बताइन्। उनले हिजोका दिनमा महिलाले सशक्तिकरणका गीत गाउँदै तीज मनाउने परम्परा रहेको उल्लेख गर्दै चेली–माइतीबीच, साथी–साथीबीच दुःख–सुख साटासाट गर्ने पर्वको रूपमा तीजलाई चित्रण गरिन्।
उनले परम्परावादी सोचप्रति प्रहार गर्दै भनिन्, “तीजमा व्रत बस्दा श्रीमान वा छोराछोरीको लागि मात्र होइन, स्वास्थ्यका लागि पनि राम्रो हुन्छ। तर पानी खाँदा श्रीमानको रगत खाए बराबरको पाप लाग्छ भन्ने कुरा ढोङ्गी धर्मका दलालहरूको सोच हो।” उनले आफ्नी छोरीको विवाहमा कन्यादान नगरेको र खुट्टा नधोएको अनुभव पनि सुनाइन्।
कार्यक्रममा एकीकृत समाजवादी कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष एमबहादुर खत्री, पार्टीका केन्द्रीय सदस्य तथा महिला विभागका नेतृहरूले मन्तव्य दिएका थिए।
एकीकृत समाजवादी कर्मचारी संगठनको आयोजनामा बिजुली बजारस्थित क्रिस्टल भेनुमा भएको रमाइलो हरितालिका तीज विशेष कार्यक्रममा करिब २५० महिलाको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय सचिव टिकादेवी आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य टीका डाँगीले गर्नुभएको थियो।

तीजका गीतमा नाचगान गर्दै महिलाहरू रमाउँदै कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको आयोजकले जनाएको छ।


वि.सं.२०८२ भदौ ६ शुक्रवार २३:५१

















