देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री महत

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५९

काठमाडौं । देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । शुक्रबार चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा.महतले देशको विकास र समृद्धि सिर्जनाका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी रहेको बताएका हुन् ।
अर्थमन्त्री महतले भने,‘ राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’उनले देशको अर्थतन्त्रले विस्तारै लय पक्रिदै गरेको दाबी गरे ।
‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भने ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने ।

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५९