चौथो मधेस प्रदेश खुल्ला तेक्वान्दो च्याम्पियनसिप आयोजकले जित्यो उपाधि
वि.सं.२०८२ पुस ६ आइतवार १६:०८

बारा—बाराको निजगढ–९ स्थित श्री जनज्योति आधारभूत विद्यालय परिसरमा सञ्चालित चौथो मधेस प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता उपाधि आयोजक श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङले जितेको छ ।

४ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित आयोजक प्रथम भएको छ ।
त्यस्तै ३ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङ्ग दोस्रो भएको छ ।

३ स्वर्ण, २ रजतसहित सलार्हीको बरथहवा तेक्वान्दो डोजाङ्ग तेस्रो भएको छ ।

त्यस्तै स्वर्ण र रजत पदक विजेता खेलाडीहरुलाई मेडल, प्रमाण पत्रसहित नगद पुरस्कारले सम्मानित गरिएको थियो । स्वर्ण पदक विजेताले नगद एक हजार र रजत पदक विजेताले पाँच सय रुपैया पुरस्कार पाएका हुन् ।

प्रतियोगिताका दुई जना उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको छ । पुरुषतर्फ आयोजकका सचिन योञ्जन घोषित भए ।

त्यस्तै महिलातर्फ सलार्हीको अर्किट तेक्वान्दो डोजाङ्गकी रन्जु दास उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनीहरुलाई शिल्ड, प्रमाण पत्रसहित जनही दुई हजार पाँच सय रुपैयासहित सम्मान गरिएको थियो ।
पुस ४ र ५ गते सञ्चालित प्रतियोगितामा पुरुषको ९ वटा, महिलाको ७ वटा तौल समुह, पुन्सेमा महिला एक र पुरुष एक, पुन्से पियर (जोडी) गरि १९ विधामा १८ वटा डोजाङ्गका तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा मुख्य निर्णायक (जुरी) को भूमिका अन्तर्राष्ट्रिय प्रशिक्षक कुमार लामा घिसिङ्ग, निर्णायकको भूमिका छेवाङ्ग लामा, संस्कार साह, सोम लामा, कंचन खड्का, प्रमोदकुमार ठाकुर, टेकेन्द्र साउद, संगम लामा, र प्राविधिकको भूमिका पवन कुमार श्रेष्ठले निभाएका थिए ।

प्रतियोगिताको समापन निजगढ वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको प्रमुख आतिथ्यतामा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दैै वडाध्यक्ष कटुवालले दक्ष खेलाडी उत्पादनका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिँदै जानुपर्ने औल्याए ।

खेलाडीलाई वडा सदस्य चित्र प्रसाद चौलागाई, बबिता श्रेष्ठ र इन्द्र कुमारी सुनार, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, सदस्य प्रमोद ठाकुर, निजगढ नगरपालिकाका रोजगार शाखाका प्रमुख ऋषब काफ्ले, प्रशिक्षक मानध्वज लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको वडा नं. १३ का वडा अध्यक्ष सुर्य घलानले उद्घाटन गरेका थिए । खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सुर्य घलानले खेलकुदको विकासमा आफूले आउँदो दिनमा पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, मुख्य निर्णायक (जुरी) को भूमिका अन्तर्राष्ट्रिय प्रशिक्षक कुमार लामा घिसिङ्ग, नेपाल तेक्वान्दो संघका मधेस प्रदेशका महासचिव राजकुमार लामा, वरिष्ट पत्रकार गोकुल घोरसाईने, प्रेस चौतारी मधेसका महासचिव दिवाकर भण्डारी, जिल्ला खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका मधेस प्रदेश अध्यक्ष पेमाशिद्धि लामा, सदस्य मोहन सापकोटा, बारा जिल्ला अध्यक्ष चित्रबहादुर लामा, पर्सा जिल्ला अध्यक्ष नाजिर हुसेन अन्सारी, समाजसेवी सावित्रि भारती, निजगढ नगरपालिकाका प्रविधि शाखा प्रमुख नविन तिमल्सिना, प्रतियोगिताका प्रायोजक द चुलोका सञ्चालक सुगम खनाल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै प्रतियोगिताकी अतिथि सत्कार उपसमिति संयोजक पावर्ती बस्नेत ( अनु), रेफ्री व्यवस्थापक उदयराज पाण्डे, खेलाडी व्यवस्थापक गौरव दाहाल, होटल व्यावस्थापक निशान्त अर्याल, मिडिया कोर्डिनेटर महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको अवसरमा २०८१ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरिएको थियो । १३ जना खेलाडीलाई वडा अध्यक्ष घलानले प्रमाण–पत्रसहित सम्मान गरेका हुन् ।

त्यसैगरि प्रतियोगिता सफल पार्न भूमिका खेलेका विभिन्न सहयोगी तथा प्रशिक्षक एवं पत्रकारहरुलाई आयोजकले सम्मान गरेको थियो ।

श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङका अध्यक्ष राजु माझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण इश्वर सापकोटाले गरेका थिए ।
वि.सं.२०८२ पुस ६ आइतवार १६:०८
















