कांग्रेसका सहमहामन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा
वि.सं.२०७९ कात्तिक २९ मंगलवार ११:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।
बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासमा छन् । यसअघि २०७४ मा चौधरीसँग २४ सय २० मतले पराजित भएका मैनाली यसपटक आफ्नो साख फर्काउने ध्याउन्नमा छन् ।
मन्त्री चौधरीले गाउँपालिका र नगरपालिकाका सबै वडालाई व्यवस्थित सडक सञ्जाल, खानेपानी, सिँचाइ, सुकुम्बासी समस्या समाधानलगायतका प्रतिबद्धता जनाउने गरेका छन् ।
मन्त्री चौधरीले थारु समुदायको बाहुल्यता रहेको क्षेत्र नं. १ मा आफ्नो जितमा कसैले रोक्ने नसक्ने दावी गरेका छन् । ०७४ को निर्वाचनमा विश्वास गरेकाहरूले अहिले पनि आफूलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफू ढुक्क रहेको उनले बताएका छन् ।
उमाकान्त चौधरी अर्थात जनताको विजुली मन्त्री ! जसले गाउँ गाउँमा पु¥याए विद्युत (भिडियो)
यता शिक्षा, स्वास्थ, यातायात, भौतिक पूर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण, सिम्राैनगढको विकासलगायतका एजेन्डा लिएर घरदैलोमा एमाले उम्मेदवार मैनाली चुनावी दौडमा स्त छन् । जनताको मन जितेर चुनावमा जित हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका मतदाताले गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी विकास र परिवर्तनका लागि एमालेलाई जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको मैनालीको भनाइ छ ।
बारा १ मा सबैभन्दा बढी मतदाता छन् । यस क्षेत्रमा कुल एक लाख १९ हजार ३ सय ७५ मतदाता छन् । जसमध्ये पुरुष ६३ हजार ४ सय ६४, महिला ५५ हजार ९ सय ६ र अन्य ५ मतदाता छन् । यस क्षेत्रका लागि ८६ मतदानस्थलमा एक सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका निम्ति राजनीतिक दलबाट १२ र स्वतन्त्र ६ गरी १८ जना चुनावी मैदान उत्रिएका छन् ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार ११:५६

















