बाराको ६ स्थानीय तहको खाता सञ्चालन, जीतपुरसिमरामा भुक्तानीको तयारी सुरु
वि.सं.२०८१ भदौ १६ आइतवार १९:२४
बारा–नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि बाराको अधिकांश स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् ।
गाउँसभा तथा नगर सभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् ।
कार्यालयका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीले भने, “नीति कार्यक्रम र बजेट गाउँ नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगर सभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।”
प्रमुख गिरीका अनुसार पालिकाहरुले सभा सम्पन्न गरेर प्रमुख प्रशासकीय अख्तियारीलाई दिएर सुत्रबाट वार्षिक प्रतिवेदन पेश गरेपछि बैंक खाता सञ्चालन हुने व्यवस्था रहेको छ ।
पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या हुन थालेको छ । विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका छन् भने सामाजिक सुरक्षा भत्ता लगायत शिक्षक कर्मचारीको तलब तथा यस वर्ष कार्यान्वयन गर्नुपर्ने योजनासमेत ढिला गरी सञ्चालन हुने निश्चित भइसकेको छ ।
६ वटाको खाता संचालन
बाराका १६ स्थानीय तहमा ६ वटाको मात्र बैंक खाता सञ्चालनमा आएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका अनुसार शुक्रबारसम्म कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, पचरौता नगरपालिकाको खाता सञ्चालनमा आएको छ ।
त्यसैगरि बारागढी गाउँपालिका, विश्रामपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाको बैंक खाता सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
नगर सभा विवादमा परेको जीतपुरसिमराको खाता सञ्चालनमा आएसँगै योजनाका गत वर्षका भुक्तानी दिने तयारीमा जुटेको छ । नगर सभाको विषयमा भएको विवादलाई लिएर एउटा समुह अदालतमा पुगेको छ ।
अदालतमा विचाराधिन रहेको आर्थिक विषयमा गतिविधि सञ्चालन नगर्न भन्दै उपमेयर भोलाप्रसाद अधिकारीले पत्र लेखेपछि निराश बनेका थिए ।
ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीले मेयर राजन पौडेललाई को योजनाको भुक्तानी गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
वि.सं.२०८१ भदौ १६ आइतवार १९:२४