skip this

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले दिए इन्द्रजात्राको शुभकामना

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूको महान् पर्व इन्द्रजात्राको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकाल देखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व भएको बताएका हुन् ।

शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालीहरूको महान् पर्व इन्द्रजात्राको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’ वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्महरू सहित धुमधामपूर्वक मनाइन्छ। नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने उनको भनाई छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै शताब्दीयौँ देखि प्रचलनमा रहेको इन्द्रजात्रा जस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।’
गर्दै उनले कुमारी इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630