जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोसपाद्वारा पाँच जनाको सिफारिस
वि.सं.२०७८ चैत २८ सोमवार २२:१४

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
आइतबार जउनपाका लोसपा नगर कमिटीले उपमेयरमा पनि पाँच जनाको नाम सिफारिस गरेको जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका नगर समितिका अध्यक्ष मनोज चौधरीको सक्रियतामा आईतबार बसेको बैठकबाट सो निर्णय गरिएको हो । सो बैठकबाट मेयर पदका लागि परमेश्वर साह, मनोज चौधरी, संजय कुमार चौधरी, अमर पँजियार र जानकी राम साहलाई सिफारिस गरेको छ । त्यसैगरी उपमेयर पदका लागि विभा ठाकुर, विभा पाण्डे, रिता कुमारी मिश्र, पुनम झा मैथिल र पुनम साहलाई जिल्ला कार्य समितिमा सिफारिस गरेको नगर अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाका लागि पर्यवेक्षक तथा धनुषा जिल्ला अध्यक्ष समेत रहेका परमेश्वर साहले मेयर तथा उपमेयर पदमा धेरै जनाको नाममध्ये पाँचजना मेयर र पाँचजना उपमेयरको नाम सिफारिस गरिएको जनाइएको छ ।
यता जिल्ला अध्यक्ष परमेश्वर साहले नगरबाट प्राप्त भएको मेयर तथा उपमेयरको नामावली सिफारिसलाई चैत २ ९ गते मंगलबार प्रदेश समितिमा सिफारिस गर्ने र प्रदेश समितिले पनि सोही दिन निर्णय गरी संघमा पठाउने जानकारी दिएका छन् । त्यसैगरी जिल्लाका विभिन्न पालिकाहरुको जनप्रतिनिधिहरुको उम्मेदवारीका लागि ३० गते भित्र जिल्लामा सिफारिस गरी पठाउने जनाइएको छ ।
वि.सं.२०७८ चैत २८ सोमवार २२:१४

















