आइजिपी बसन्तबहादुर कुँवरको बचाउमा उत्रियाे सचिवालय !
प्रहरीको चेन अफ कमाण्डमाथि आँच आउने गरी समाचार आएकाे तर्क
वि.सं.२०८० जेठ १० बुधवार १७:५९

काठमाडाैं-नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरकाे नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद भूमिकाबारे उनकाे सचिवालयले बचाउ गरेकाे छ ।
बुधबार उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै छापिएका समाचारमा असहमति जनाईएकाे छ । यस प्रकरणमा आइजिपीको भूमिकाबारे आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै असहमति जनाएको हो ।
कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको आइजिपी सचिवालयको दाबी छ।
‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
आइजिपीले आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजेर विवादमा तानेको निन्दनीय भएकोसमेत विज्ञप्तिमा उल्लेख छ।
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान टुंग्याएर आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले भेटेका प्रमाण र घटनाक्रमले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा राम्रो अनुसन्धान नगरेको, पूर्वगृहमन्त्री खाणलाई जोगाउन भरमग्दुर प्रयास गरेको र पूर्वगृहसचिव टेकनारायण पाण्डे मार्फत गिरोहका सदस्यहरूसँग समन्वय गरेको भनेर समाचारहरु बाहिर आएका छन् ।

वि.सं.२०८० जेठ १० बुधवार १७:५९

















