भूमी व्यवस्थाबारे माओवादी निकट किसान संघ र पीडितले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन
वि.सं.२०८० पुस ५ बिहीवार १८:४१

बारा–भूमी व्यवस्थाबारे देखिएको समस्याबारेमा नेकपा (माओवादी केन्द्र) निकट किसान संघ, जनप्रतिनिधि र पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विहीबार ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष एवं क्रान्तिकार किसान महासंघका महासचिव नहेन्द्र खड्का, नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य प्रलाद बुढाथोकी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, कोल्हवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दलबहादुर चौधरी लगायतको उपस्थितिमा संघर्षरत पीडित किसानले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।
टोलीले प्रधानमन्त्री प्रचण्ड समक्ष सात बुद्दे माग अघि सारेको छ । जसमा हदवन्दी भन्दा बढी भएको जग्गा सम्पूर्ण मोही हकवालालाई वितरण गर्नुपर्ने, हदबन्दी भन्दा बढी भएका जग्गा तर मोही नभएमा भूमिहिन किसानलाई वितरण गर्ने, दा. खा. गरि छाडेका र लुकाईएको सम्पूर्ण जग्गा मोही हकवालाको नाममा लालपुर्जाको व्यवस्था गर्नुपर्ने, हदबन्दी भन्दा बढि तथा लुकाईएका जग्गा वाडफाड बन्द गर्नुका साथै एउटै व्यक्तिले दुईवटा, तीनवटा नाममा जग्गा लुकाईएकोले अविलम्ब कार्वाही गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै भुमिसुधार तथा व्यवस्था मन्त्रालयको पं.सं. ६/१/४ (द १२९२/०७२/७३/३/१ नं ७७५। च. नं. ३०८४ मिति २०७३/३/१० को पत्रवाट तपशिलको २ नम्वरमा हदवन्दी जग्गामा मोहि लागेको जग्गामा मोहिको भाग छुट्याई बाँकि जग्गा नेपाल सरकारको नाउमा ल्याउने निर्णय खारेज गरी हदवन्दी जग्गामा मोहि लागेको सम्पुर्ण जग्गा मोहि हकवालाको नाउँमा लालपुर्जाको व्यवस्था गर्न माग गरिएको छ
त्यस्तै कान्तिकारी भूमि सुधार लागु गर्नुपर्ने र सरकारी जग्गा र मोहीको जग्गा बिकि गर्ने र गराउनेलाई कडा कार्वाही गर्नुपर्ने माग अघि सारिएको छ ।
टोलीमा बाराका संघर्षरत पीडित किसान टेकनारायण चौधरी, भरत प्रसाद पनुहर बल्लूलाल चौधरी, योगेन्द्र चौधरी, बासु चौधरी, प्रकाश चौधरी, प्रेम चौधरी सहभागि थिए ।
टोलीले तामागढी–सिम्रौनगढ सडकमा परेका स्थानीयलाई तत्काल मुअब्जा वितरण गर्न सरकारसँग माग गरेको छ ।
ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सकारात्मक रुपमा लिदै आवश्यक कारबार्ही र नीतिगत रुपमा काम गर्ने बताएको टोलीमा सहभागि नेता बुढाथोकीले जानकारी दिए ।
हदबन्दी भन्दा बढीको जग्गा सकुम्बासीलाई
ज्ञापन पत्रमार्फत बाराको विभिन्न स्थानमा एउटै परिवारको हदबन्दी भन्दा बढीको जग्गा रहेकाले त्यसलाई वितरण गरेर सुकुम्बासी समस्या समाधान गर्न माग गरिएको छ ।
एउटै व्यक्तिको ४ वटा सम्म नाम खडा गरेर ४१३ बिगहा जग्गा लुकाएको भन्दै त्यसलाई बाहिर ल्याएर सुकुम्बासीलाई वितरण गर्न माग गरिएको हो ।
हदबन्दी भन्दा बढीको जग्गा भूमि सुधार कार्यालयका कर्मचारीको मिलेमत्तोमा फर्जि व्यक्तिको नाममा राखेर लुकाउने कार्यमा संलग्नलाई कारबाही गर्न समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
बारा जिल्लामा महा सामन्तको रुपमा परिचित गडहल गाउँका हाल बारागढी गा.पा वडा नं. ६ का सामन्तहरुको हातमा जिल्लाका साविकका ३४ गाविसमा १४ सय ४५ विघा जग्गा जमिन रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा भनिएको छ–
गडहल, उमजन, कहिया, मपत्री, निहोवो, तेतरिया, ककडी, परमौना, कोल्हवी न.पा. रमपूर्वा, सिंहासनी, अमाय, बछनपूवां, विशुनपुर्वा, खोपवा, पिप्रा, बसतपुर, पथरा, अमरपटी, कुइया, पटेर्वा, भगवानपुर, जयनगर, च्युटाहा, इनबामाल, दहियार, गजभवानीपुर, मधुरी, कबही, जबदी, बहुआइन, परशुरामपुर मैनी, डुबरवाना, फतेपुर र कलैया नगरपालिकामा जग्गाहरु रहेका छन् ।
२०४५ सालमा भु.सु. अधिकारी बासुदेव शर्मा घिमिरेले २०२१ सालमा १६ वर्ष उमेर पुगेका आठ परिवार हृदय नारायण शाह तेली, बिसुन दयाल साह तेली, किसुन दयाल माह नेली, असभी प्रमाद साह, बञ्जकिशोर साह, राजेन्द्र प्रसाद साह, भुजेन्द्र प्रसाद साह र सुरेन्द्र प्रसाद साहलाई २८ विगहाका दरले २२४ बिगहा जग्गा राख्ने र बाकी सबै जग्गा हरबन्दी भन्दा बढी छुटयाएको थियो। कार्यान्वयन भएन । फलस्वरुप सामन्तहरुले आफु खुशी, जग्गा बेच्ने र मोही कटाउने काम गर्दै आयो ।
२०६८ सालमा मोही किसान माथि ठूलो बज्रपात भयो । बाबुराम भट्टराई सरकारको समय देखी नै भुसु अधिकारीहरु प्रकाश श्रेष्ठ राज राजेश्वरी त्रिवेदी तथा सिकिन्द साह तेलीले भुसु ऐन २०२१ को बर्गखलाफ नावालक १४ वर्षे दिलिप कुमार साह, १३ बर्षे निजको श्रीमती सुकुन्तला देवीलाई पनि परिवारको परिभाषा विपरित २८ विगहा जग्गा पाउने निर्णय गरेको छ ।
स्व. हृदय नारायण साहको पत्नी रजिया देवी र कौशल्या देवी, छोरा गजेन्द्र प्रसाद साह, बिन्देश्वर प्रसाद साह, दिलिप भन्ने दिनानाथ साह, छोरी पासपति देवी साह, अनिता देवी लालवतिको नाता पर्ने छोरा बुहारी शशी भूषणकी पत्नी अनिता देवी साह स्व. किसुन दयाल साह, पत्नी लाखपति देवी साह, छोरा सुरेन्द्र प्रसाद साह, जगदिश प्रसाद साह, ओम प्रकाश साह, ध्रुव कुमार साह, स्व. असर्फि प्रसाद साह, पत्नी शान्ति देवी साह, छोरा विजय कुमार साह, नाति नतिनी कुमार साह, स्व. विसुन दयाल साह, छोरा जवाहर प्रसाद साह, भुजेन्द्र प्रसाद साह, उपेन्द्र प्रसाद साह, उमेश प्रसाद, छोरी माल्ति देवी साह, राजेन्द्र प्रसाद साह, छोरी आशारानी साह, रेखा रानी साह, छोरा अन्जनी कुमार, अवदेश कुमार, सुनिल कुमार, छोरा बुहारी अन्जनीकी पत्नी आरती कुमारी, व्रज किशोर साह, पत्नी संझा देवी, काल्पनिक नाम संजा देवी, संध्या देवी त्यस्तै विरकेश्वर साह, वृज किशोर माह, बिज किशोर साह, बज्र किशोर साहको नाउमा ४१३ बिगहा जग्गा लुकाएको छ । राख्ने जग्गा र मोही जग्गा बाहेक ४४८ विगहा जग्गा भुमिहिन सुकुमबासीलाई खेतीगर्न र घर घडेरी बनाउनको लागि दिन सकिन्छ । केही मात्रामा भए पनि बारा जिल्लामा सुकुमवासीको समस्याहरु हल गर्न सकिन्छ ।
यसमा माथि उल्लेख भएको बज्र किशोर, बृज किशोर, ब्रिज किशोर, वीर केश्वर साह यो एउटै व्यक्तिको चारवटा नाम हुन् । त्यस्तै बज्र किशोरकी पत्नी संझा देवी, संजा देवी साह, सन्ध्या देवी, एउटै व्यक्तिको तीनवटा नाम छन् । त्यस्तै दिलिप कुमार साह तेली, दिलिप दिनानाथ साह प्रसाद दिलिप भन्ने दिनानाथ साह तेली एउटै व्यक्तिको तीनवटा नाम हुन् । यसरी एउटै व्यक्तिको धेरै नाम देखाई जग्गा लुकाई किर्ते काम हुँदा पनि प्रशासन मौन देखिन्छ ।
एउटै व्यक्तिको दुइवटा, तीनवटा नागरिकता समेत लिएको अवस्थामा पनि प्रशासनबाट केही पनि कारवाही भएको छैन । २०२१ साल देखीको करोडौ मालपोत बक्यौता हुँदा हुदै जग्गा बिक्रि हुदा कानुनका रखवालाहरु मुक दर्शक बनी रहनु दुर्भाग्य छ ।
असर्फि प्रसाद साह, ब्रज किशोर साह, नागेन्द्र प्रसाद साह, विशुनदयाल साह, जगदीश प्रसाद साह, कौशल्या देवी साह, ओम प्रकाश साह, भुजेन्द्र प्रसाद साह, विन्देश्वर प्रसाद साह, गायत्री देवीको तथा राजेन्द्र प्रसाद साहको हदबन्दि मुद्दा टुङ्गो लागे पनि कार्यान्वयन नगर्नु नगराउनु, सरकारको किसान मारा नीतिको पहिचान हो । के सबै जग्गा बिकी भईसकेपछि र सबै मोहीहरु मरिसके पछि मात्रै कार्यान्वयन हुने हो त सरकार ।
विगतका कुनै पनि सरकारले ३५ वर्ष विति सक्दा पनि कार्यान्वयन हुन सकेन । मोही किसान माथि दिन प्रतिदिन अतिक्रमण बढदै छ । मोही किसानहरु सुकुमबासी बन्दैछन् । लुकाईएका तथा हदबन्दी भन्दा बढि जग्गा मोही नभएका जग्गाहरु हुकुमबासी सामन्तहरुले नै खनजोत गरि गराई रजाई गरिरहेका छन् । सुकुमबासीहरु टुलुटुलु हेर्न बाध्य भएका छन् । सरकारको सबै अङ्ग निष्क्रिय भएका छन । सामन्तहरुको अन्याय अत्याचार हेर्न बाध्य भएका छन् ।
तसर्थ शोषित पीडित मोही किसानहरुको पीडा मार्का बुझि अविलम्ब तपसिलमा लेखिएका मांगहरु कार्यान्वयन होस । वर्तमान सरकार संग जोडदार मांग गर्दछौ । यस्तो अवस्थामा सबैबाट सहयोग हुने नै छ । पूर्ण आशा र विश्वास छ ।
वि.सं.२०८० पुस ५ बिहीवार १८:४१

















